राइनासकोट(लमजुङ)– चैत दशैं– २०७८ र नववर्ष २०७९ को पावन अवसरमा आयोजना गरिएको ठाडोभाका खुल्ला प्रतियोगिताको दुई दिवसीय कार्यक्रम सम्पन्न भएको छ । राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको आयोजनामा भएको उक्त प्रतियोगिता चैत २६ गते साँझ अवेर सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा दूधपोखरी गाउँपालिका– ४ की देउकुमारी गुरुङ महिला टोली र मध्यनेपाल नगरपालिका– १० थान्सिङका ६७ वर्षीय अमरध्वज गुरुङको पुरुष टोली पहिलो भयो । त्यस्तै राइनास नगरपालिका– १० प्यारजुङका किसबहादुर गुरुङको पुरष टोली र दूधपोखरी गाउँपालिका– ४ को भुन्टीमाया तामाङको टोली दोस्रो भने दोर्दी गाउँपलिका तत्कालीन ढोडेनी गाविस लप्सीबोटकी ६८ वर्षीया जालुमाया गुरुङ र सुन्दरबजार नगरपालिका– ८ भेटेओडारका धनबहादुर गुरुङको टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएको निर्णायक समितिका संयोजक एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ आजीवन सदस्य सीता दुराले बताउनु भयो । उहाँका अनुसार उक्त प्रतियोगितामा दूधपोखरी गाउँपालिका– ३ सानोकाभ्र्रेका हरिबहादुर गुरुङको पुरुष टिम र सुन्दरबजार नगरपालिका– ९ पैरेकी मीनाकुमारी गुरुङको महिला टोलीले सान्त्वना स्थान हासिल गर्न सफल भयो ।

विजयी टोलीलाई उक्त प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि एवम् राष्ट्रिय भूमि आयोगका अध्यक्ष दामोदर अधिकारी, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, सोही प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, कार्यक्रममा अध्यक्ष एवम् राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङ, सोही समितिका सल्लाहकार खड्गबहादुर गुरुङले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
सो अवसरमा आफ्नो प्रमुख आतिथ्य मन्तव्य व्यक्त गर्नु हुँदै राष्ट्रिय भूमि आयोगका अध्यक्ष दामोदर अधिकारीले ठाडोभाका अव मर्दैन भन्ने सुनिश्चित भएको आफूले पाएको बताउनु भयो । उहाँले पछिल्लो समयमा र यही दुई महिनाको अन्तरमा पश्चिममा रहेको देउबहादुर दुराको जन्मथलो हाडीखोला बर्धन गाउँदेखि ऐले पूर्वीलमजुङको राइनासकोटसम्म यो भागा गुञ्जायमान हुनु र आउँदो चैत पूर्णिमाको दिनमा इलमपोखरीमा यसको व्यापक कार्यक्रम हुने भएबाट त्यसको पुष्टि हुन्छ भन्नुभयो । यसमा अझ २२– २५– ४० वर्ष उमेर समूहका भाइबहिनीहरूको समेत सहभागीता भएको भए सुनमा सुगन्ध हुन्थ्यो यसतर्फ आयोजकको ध्यानाकर्षण गर्दछु भन्नुभयो । यो प्रतियोगितामा प्रस्तुत भएका गीत निकै उत्कृष्ठ रहेको आफूले पाएको बताउँदै प्रतिष्ठानले ६ वर्षकै उमेरमा २०– २२ वर्षको जस्तो सफलता हासिल गर्न सकेको आफूले अनुभव गरेको उहाँले उल्लेख गर्नु भयो । यस्तो कार्य प्रतिष्ठानका संरक्षक र अध्यक्षको जोडी र मतोमिलेकै कारणले सम्भव भएको आफूले अनुभव गरेको पनि उहाँले बताउनु भयो ।
अर्को एक प्रसङ्गमा आफ्नो न्यूयोर्क भ्रमणको स्मरण गर्दै राइनासकोटलाई पुनर्जागरण गराउने काम गर्ने नतासाको पनि राइनासकोटलाई राइनासकोट बनाउनेमा ठूलो हात रहेको बताउनु भयो । तर उनी एक महिला भएर पनि जे गरिन् त्यो निकै उत्कृष्ठ कार्य रहेको बताउँदै उनी अमेरिकामा डेरामा बस्ने र साइकल चढेर आफ्नो दैनिकी गुजार्ने महिला रहिछन् । किनकि, अमेरिकामा १६ वर्षको उमेर कटेपछि बाबुआमाकोमा बस्नु लाज हुन्छ, आफ्नो कमाईले आफ्नो जीवन धान्नु पर्छ, उनले विवाह समेत गरेकी रहिनछिन् । त्यसपछि मैले सोधे, ‘राइनासकोटमा त्यस्तो कार्य गर्न कसरी सम्भव भयो ?’ उनले भनिन्, ‘नेपालबाट फर्कदा केही सामान लिएर आएको थिएँ । नेपालमा रु १ मा पाइने चिज यहाँ १० डलरमा विक्री हुन्छ, त्यसरी संकलन गरेको पैसा र मेरा चिनजानका साथीभाइ र आफन्तको सहयोगमा संकलन भएको रकमले गरेको हुँ’ भन्ने जवाफ पाएँ त्यसैले नतासाको जीवनबाट पनि हामीले सिक्नु पर्छ उहाँले भन्नुभयो ।
उहाँले अन्त्यमा भन्नुभयो, ‘प्रमुख जिल्ला अधिकारी समेत यो कार्यक्रममा सहभागी भएर यसको गरिमा बढाइदिनु भयो, यो कार्यक्रमको आयोजना गर्ने राइनासकोट होमस्टे व्यवस्थापन समिति र खड्ग गुरुङ विशेष बधाईका पत्र हुनुहुन्छ म उहाँहरूलाई धन्यवाद दिन्छु भन्नु भयो ।
उक्त कार्यक्रमको उदघाटन गर्दै ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले संस्कृति हरायो भने हामी धागो छिनेको चङ्गाजस्तै हुनेछौं भन्नुभयो । त्यसैले लोकसंस्कृतिको संरक्षण गर्नु हामीसबैको दायित्व हो, त्यसमा पनि ठाडोभाका मह जस्तै हो उहाँले भन्नुभयो । कलाकाले अभिनय गर्नु पर्छ र उनीहरूको समाज र राज्यले सम्मान गर्नु पर्छ उहाँले बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उपलब्धी कुनै भवन, सडक, खानेपानी, पुल आदि बनाएको जस्तो तुरुन्त देखिने हुँदैन यसको उपलब्धी देखिन समय लाग्छ । त्यही दुरगामी सोच अनुुसार २०७२ सालमा स्थापना गरेको ठाडोभाका लोककला प्रतिष्ठानका उपलब्धी देखिन थालेका छन्, यी परिणामले गौरवबोध हुन थालेको छ भन्नुभयो । उहाँले प्रतिष्ठानको पालिकास्तरमा शाखा खोल्ने कार्यक्रम रहेको र अबका दिनमा जिल्लाका आठवटै शाखाबाट पालिकास्तरका कार्यक्रम गरिने बताउनु भयो । उहाँले शिवरात्रीको बेलामा करापुटारमा लाग्ने मेला जस्तै इमलपोखरीमा चैत पूर्णिमामा लाग्ने मेलामा पनि उक्तिकै महत्वपूर्ण र ठाडोभाकाका लागि उर्वर स्थल रहेको बताउनु भयो । उहाँले आउँदो चैतपूर्णिमामा हामीले एक कार्यक्रमको आयोजना गरी निकट भविष्यमा निस्कने स्मारिकाका लागि सामग्री संकलन गरिने जानकारी दिनु भयो ।
राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सो समितिका सल्लाहकार खड्गबहादुर गुरुङले स्वागत गर्नु भएको थियो ।